तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार निर्माण गर्न सहयोग

दमौली-धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित पान्धारे मन्दिर संरक्षण र पूर्वाधार निर्माणका लागि रु एक लाख सहयोग हस्तान्तरण गरिएको छ । पान्धारे उपभोक्ता समिति साँगेले मन्दिरमा पूर्वाधार निर्माणका लागि रु एक लाख एक हजार सहयोग गरेको हो । समितिका अध्यक्ष यज्ञप्रसाद खनालले मन्दिर संरक्षण समितिका अध्यक्ष काजीमान श्रेष्ठलाई रकम हस्तान्तरण गर्दै पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो ।

नगरपालिकाको सीमा जोडिएको यस मन्दिरले म्याग्देको मात्रै नभई व्यासको पनि पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । पर्यटन प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित मन्दिर परिसरमा पोखरी निर्माण गरिएको छ । पोखरी निर्माणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयको रु चार लाख र डिभिजन वन कार्यालय तनहुँको रु दुई लाख सहयोग गरेको थियो ।

पोखरी निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेका थिए । १७५ फिट गोलाइ र ५५ फिट उचाइ रहेको उक्त पोखरीमा वाराही मन्दिरको देवताका रुपमा रहेको मत्स्यकन्याको मूर्ति राखिनेछ । जिल्ला भू–संरक्षण कार्यालय र जिल्ला वन कार्यालयकै आर्थिक सहयोगमा मन्दिर परिसरमा तटबन्धन गरिएको थियो । श्रेष्ठका अनुसार पाँच धारा अविरल रुपमा बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्छ । यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउता विजयी भएको र देउताले जनताको संरक्षण गरेको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button