तपाईँ सुन्दै हुनुहुन्छः

‘पुनर्निर्माणको काममा ८० प्रतिशत प्रगति’

तुलसी सापकोटा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शक्तिशाली भूकम्पबाट अति प्रभावित जिल्लाका निजी आवास पुनर्निर्माणको काममा ८० प्रतिशत प्रगति भएको जनाएको छ ।

प्राधिकरणले भूकम्प अति प्रभावित जिल्लाका क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा ८३ प्रतिशत र स्वास्थ्य संस्था पुनर्निर्माणमा ६६ प्रतिशत प्रगति भएको जनाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प पश्चातको पुनर्निर्माण पछिल्लो समय द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो ।

उहाँले बाँकी अवधिभित्र पुनर्निर्माणका सम्पूर्ण काम सम्पन्न गरिसक्ने दृढता व्यक्त गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणको काम समयमा सम्पन्न गर्न थप करिब ४२९ अर्ब रुपैयाँ आवश्यक रहेको बताउनुभयो ।

पुननिर्माण प्राधिकरणले पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत प्रगति हासिल गरेको, कलात्मक र मौलिकता कायम गर्नेगरी प्राचीन सामग्रीको प्रयोग गरेर गुम्बाहरु निर्माणको कार्यविधि तयार गरी डिजाइन कार्य भैरहेको जनाएको छ ।

काठमाडौंको रानीपोखरी, धरहरा, काष्ठमण्डप लगायतका उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button