तपाईँ सुन्दै हुनुहुन्छः

जलजलामा पहिरो पीडितलाई राहत प्रदान

पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत बसोबास गर्दै आएका पहिरो पीडितलाई स्थलगत रुपमा नै पुगेर सहयोग प्रदान गरिएको छ । 
पछिल्लो समय लगातार वर्षाका कारण विस्थापित बनेका १६ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले पीडितको घरमा नै पुगेर सहयोग उपलब्ध गराएको हो । 
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्रीको नेतृत्वमा पुगेको जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, रेडक्रस सोसाइटी पर्वतको टोली र सञ्चारकर्मी सहितको उपस्थितिमा १६ परिवारलाई १ लाख ७० हजार नगद रुपैयाँ र खान बस्नका लागि सामग्रीहरु प्रदान गरिएको हो । 
सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त विपद् कोषमा रहेको रकमबाट पीडितहरूलाई सहयोग गरिएको थियो । दीर्घकालीन रुपमा समस्या समाधानका लागि नभई तत्कालका लागि राहत स्वरूप उक्त रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । 
घर पूर्ण रुपमा भत्किएर छिमेकीको घरमा ६ जनाको परिवार सहित बस्दै आउनुभएका जलजला ४ देविस्थानका टेकबहादुर थापाले सहयोग थोरै भए पनि आफूहरूलाई ठूलो राहतको महसुस भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button