तपाईँ सुन्दै हुनुहुन्छः

जनताका पक्षमा द्रुत गतिमा  काम गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका पक्षमा द्रुत गतिमा  काम गर्ने बताउनुभएको छ ।
आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले विश्वासको मत आउनुले नै सरकारले राम्रो काम गरेको स्पष्ट भएको बताउँदै जनअपेक्षा पूरा गर्ने जनाउनुभएको हो । उहाँले भन्नुभयो,‘‘लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न विश्वासको मत प्राप्त भएको ठानेको छु ।’’ उहाँले आगामी दिनमा सबैलाई सँगै लिएर प्रदेशको विकास र समृद्धिका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री भट्टका  पक्षमा माओवादी केन्द्रका १३ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल समूहका १७ गरी ३० सदस्यले मत दिनुभएको थियो । प्रदेशमा १२ सदस्य रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठकमा उपस्थित भएर पनि तटस्थतामा रहेको थियो भने  एमालेको  संस्थापन पक्षका सात र जनता समाजवादी पार्टीका दुई  सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो ।
एमालेका प्रदेशसभा सदस्य लीलाधार भट्टले नियमावलीबमोजिम मुख्यमन्त्रीले सचिवालयमा प्रस्ताव प्रस्ताव दर्ता गराएको ४८ घण्टा नपुग्दै छलफल शुरु गरिएको भन्दै नियमापत्ति गर्नुभएको थियो । एमालेको स्थायी समितिको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय विपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकको बहुमतले हाललाई समर्थन कायम राख्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button