तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन, रेडियो नेपालद्वारा दुःख व्यक्त

काठमाडौं- रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहनुभएकी अधिकारीको ८४ वर्षको उमेरमा गएराति काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

अधिकारीको निधनमा रेडियो नेपालले शोक वक्तव्य निकाल्दै दुःख व्यक्त गरेको छ । नेपालको परिर्वतन र क्रान्तिका लागि गायिका अधिकारीको योगदान अतुलनिय रहेको बताउँदै रेडियो नेपालले आज दिनभरीको प्रसारण उहाँप्रति समर्पित रहने जनाएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की द्धारा हस्ताक्षरित शोक वक्तव्यमा अधिकारीले नेपाली गीत संगीतको विकास र श्रीवृद्धिमा पुर्‍याउनुभएको योगदानको रेडियो नेपालले सधै कदर गरिरहने बताइएको छ ।

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उहाँका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय पौडेल हुनुहुन्छ। उहाँको बाल्यकाल बनारसमा बित्यो। उहाँको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गर्नुभएको थियो। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गर्नुभएको थियो। उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर गीत गाउनुभयो। चरी भुर्र उडी घरमा मेरो जा भन्ने गीत‍ रानुदेवीले गाउनुभएको हो ।

इतिहास विषयमा एम.ए. सम्मको अध्ययन गर्नुभएकी रानुदेवीका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना हुनुुहन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button