दुई अर्ब बराबरको शेयरको कारोबार
काठमाडौं । धितोपत्र बजारमा यो साता करीब दुई अर्ब बराबरको शेयरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साताभर कूल १७१ कम्पनीका ७१ लाख ९२ हजार ७६४ कित्ता शेयरहरु एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ मूल्य बराबरको शेयरको कारोबार भएको हो ।
यो साताको अन्तिम दिन अर्थात् बिहीबार साउन ९ गते परिसुचक एक हजार २६९.९२ मा पुगी बन्द भयो । यस आधारमा हेर्दा साताभर नेप्से २.५७ बिन्दुले घटेको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुग्यो ।
सोमबारबाट सामान्य रुपले बढन शुरु गरेको शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार करीब छ अङ्कले उकालो लाग्यो । बुधबार कारोबार बढेर परिसूचक ६.९० अङ्कले वृद्धि भै एक हजार २८४.०७ मा पुग्यो ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोबारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको कारण निराश भए ।
उक्त दिन नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि बिहिबार कारोबार रकममा भने सुधार भयो ।
बिहिबार कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा किनबेच भए ।
प्रतिक्रिया राख्नुहोस्