तपाईँ सुन्दै हुनुहुन्छः

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

बाँके । बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा किसानहरूले लगाएको धानबारीमा कालो पोके किराको प्रकोप देखा परेको छ।

यो समस्या विशेषतः सावा मन्सुली प्रजातिको धानमा देखिएको हो । जसले गर्दा किसानले कटान गर्न तयारी अवस्थामा रहेको धानमा ठूलो क्षति बेहोर्नुपरेको छ। कोहलपुरको धान उत्पादन हुने क्षेत्रमा लगाइएको धानमा कालो पोके किराको व्यापक प्रकोप फैलिएको र उत्पादनमा ठूलो असर परेको कोहलपुर कृषि विकास शाखाका अधिकृत चन्द्र बुढाले जानकारी दिनुभयो।

कृषक कमल वलीले लगाएको चार कठ्ठा क्षेत्रफल लगायत अन्य किसानहरू यो समस्याबाट प्रभावित छन्। वलीले रोपेको धानमा कालो पोके किराले धानको बोटमा गम्भीर क्षति पुर्याएको र हर वर्ष उस्तै समस्या दोहोरिने गरेको कृषकहरूको गुनासो रहेको छ।

विशेषज्ञका अनुसार, कालो पोके किराले धानको बोटलाई आक्रमण गरी भित्रभित्रै नष्ट पार्ने गर्छ। यो किराले धानको बोक्रामा कालो धब्बा बनाउँदै बोटको पोषण तन्तुलाई नष्ट गरिदिन्छ। जसले गर्दा बोट कमजोर भई बालीमा बालाको विकास हुन सक्दैन। किसानहरूले गुनासो गरे जस्तै, यो किरा हरेक वर्ष धान कटानको समयमा फेरि फर्कने भएकाले ठोस समाधान आवश्यक भएको बताइएको छ।

यस समस्याको समाधानका लागि कृषि विकास शाखाका अधिकृत बुढाले उपचार गरिएका बीउ प्रयोग गर्ने, जैविक कीटनाशक र उचित मलको प्रयोग गर्न सुझाव दिनुभएको छ।

कोहलपुर कृषि विकास शाखाले कृषकहरूलाई सधैँ रोगविरुद्ध प्रतिरोधात्मक उपायहरू अपनाउन, बीउ छानबिन गरी उपयोग गर्न र खेतमा नियमित अवलोकन गर्न सल्लाह दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button