तपाईँ सुन्दै हुनुहुन्छः

नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स राष्ट्रिय क्रिकेट भोलि सुरु हुँदै

विराटनगर । नरेश श्रेष्ठ स्मृति वाइवाइ मेन्स अन्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि विराटनगरमा सुरु हुँदैछ ।

आज विराटनगरमा आयोजक कोशी प्रदेश प्रादेशिक क्रिकेट सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा नेपालका सात वटै प्रदेशको क्रिकेट टिम र तिन वटा विभागीय टिमको सहभागितामा सो प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । भोली बिहान हुने उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्तिक–१० गते देखि कार्तिक–२१ गतेसम्म विराटनगरको वैधनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान तथा मेर्लिवोन ज्वाला क्रिकेट मैदान विराटनगरमा सो प्रतियोगिता आयोजना हुदैछ ।

नेपाल क्रिकेट सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिताको प्रथम हुने टिमले ट्रफी र मेडलसहित नगद २ लाख र दोस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधि प्रबल गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरलाई क्रमशः २०/२० हजार, प्लेयर अफ द सिरिजलाई ३५ हजार र हरेक दिनको खेलको प्लेयर म्यान अफ द म्याचलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ वटै प्रदेशका टिमको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविन फर्म्याटमा हुने ५० ओभरको प्रतियोगितामा दुई वटा समूहका उत्कृष्ट टिमबिच उपाधिका लागि प्रतिस्पर्धा हुने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताउनुभयो । प्रतियोगिताको लागि अनुमानित खर्च १ करोड ९० लाख रुपैयाँ रहेको छ ।

यो प्रतियोगिता नै कोशी प्रदेशमा पहिलो उमेर समूहको प्रतियोगिता रहेको कोशी प्रदेश प्रादेशिक क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो । नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष स्वर्गीय नरेश श्रेष्ठको स्मृतिमा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button