तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी महामहोत्सवको तयारी शुरु

जनकपुरधाम । जनकपुरधामको सबै भन्दा ठूलो महोत्सवको रुपमा हुने गरेको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव २०८१ को तयारी शुरु भएको छ । महोत्सव पाँच वर्षको अन्तरालमा आउने भएकाले विशेष तयारी हुने भएको छ ।

भारतको अयोध्याबाट यस वर्ष पाँच सयको सङ्ख्यामा साधु, सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु-भिक्षुणी आउने भएकाले भव्य तयारीमा जानकी मन्दिरसहित प्रदेश सरकार, स्थानीय सरकार तयारीमा जुटेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले महोत्सवमा भव्यता दिनका लागि मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति निर्माण गरेको छ ।

समितिका सदस्यहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, उद्योग र वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ रहनुभएको छ ।

समितिले महोत्सव अन्तर्गत गरिने कार्यक्रम, अयोध्याबाट आउने जन्तीका लागि बास लगायतका विषयमा गृहकार्य, मेला भर्न आउने श्रद्धालु भक्तजन तथा साधु सन्तका लागि वास प्रबन्धन आदिका विषयमा गर्नुपर्ने कामका विषयमा प्रदेश सरकारलाई प्रतिवेदन दिने छ ।

महोत्सवमा सहभागी हुन देश विदेशका लाखौँ श्रद्धालु भक्तजन तथा साधु सन्त जनकपुरधाम आउने गरेका छन् । यस पटक विवाह पञ्चमी महोत्सव, शुभ विवाहको कार्यक्रम मङ्सिर २१ गते परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button