तपाईँ सुन्दै हुनुहुन्छः

‘मधेश प्रदेशमा ४२ प्रतिशत बालिका विवाह’

जनकपुरधाम । आर्थिक, सामाजिक तथा पछौटेपनाका कारणले मधेश प्रदेशका जिल्लाहरूमा अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी बालिका विवाह हुने गरेको छ ।

oplus_2

मधेश प्रदेशमा बालविवाह ३५ प्रतिशत भए पनि बालिका विवाह ४२ प्रतिशतले हुने गरेको बालविवाह न्यूनीकरणका लागि जनकपुरधाममा आयोजित प्रदेश स्तरीय कार्यशालामा जानकारी दिइयो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बालअधिकार परिषद् एवं एकीकृत हातेमालो समाज नेपालको संयुक्त आयोजनामा “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” मूल नारासहित भएको कार्यक्रममा सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि तीन तहका सरकारसहित गैरसरकारी संस्थाहरूको सक्रियताले बालविवाह नियन्त्रण तथा न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बालविवाह सामाजिक कुरीतिको रुपमा रहेको बताउँदै यसको रोकथाम एवं नियन्त्रणका लागि तीनै तहका सरकारबीच अधिकतम सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले प्रदेश सरकार बालविवाह न्यूनीकरणका लागि १० वर्षे रणनीतिक योजनाको निर्माणमा अग्रसर रहेको बताउँदै बालविवाहले प्रदेशको समृद्धि एवं विकासमा ठूलो बाधक भएको उल्लेख गर्नुभयो ।

नगरपालिका महासङ्घ मधेश प्रदेशका अध्यक्ष एवं धनुषाका हंशपुर नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकारसहित विभिन्न संघ संस्थाहरू मिलेर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

गाउँपालिका महासङ्घ मधेश प्रदेशका अध्यक्ष एवं सर्लाही जिल्लाका विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले छोरीलाई बोझका रुपमा लिने गरेका कारणले कम उमेरमा विवाह गरिदिने प्रवृत्ति देखिएकाले वालिका विवाह नियन्त्रणका लागि प्रचारात्मक, नियन्त्रणात्मक तथा दण्डात्मक नीति लिन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button