तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा किवी खेती विस्तार

गुल्मी । कृषिमा नयाँ सम्भावना र प्रयोग बढ्दै जान थालेको छ । किसानहरू परम्परागत सोच बदल्दै नयाँ प्रविधि अपनाएर कृषि गर्न सुरु गरिरहेका छन् । त्यस्तै गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकामा पनि किवी खेती सुरु गरिएको छ ।

गुल्मीको मालिका गाउँपालिका-४ अर्खबाङका ६६ वर्षीय किसान विष्णु प्रसाद अर्यालले पहिलो पटक किवी खेतीको सुरुवात गर्नु भएको छ । तीन वर्ष अघि परिक्षणीको रुपमा लगाउनु भएका १५० वटा किवीका बोटले यस वर्ष बाट राम्रो फल दिन सुरु गरेपछि उहाँ खुशी हुनुहुन्छ ।

यहाँको हावापानीमा किवी खेती राम्रो हुने हुँदा थप विस्तार गरि व्यवसायीक रुपमा किवी खेती गर्ने सोच उहाँको रहेको छ । किवी स्वादिष्ट र पोषिलो फल हो त्यसकारण यसको बजार माग पनि धेरै रहेको छ । त्यस्तै छोटो समयमै हुर्कने र फल दिने हुँदा किसानको आम्दानीको गतिलो स्रोत समेत बन्न पुगेको छ । गाउँपालिकाले टनेल र झिक्राको व्यवस्था गरिदिए आफूलाई सुविधा हुने अर्यालको भनाई छ । 

गाउँपालिकाले पनि किवी खेती पालिकाको लागि नौलो खेती भएको हुँदा मागमा आधारित अनुदान दिने प्रमुख प्रशासकीय अधिकृत कमल क्षेत्रीले बताउनुभयो ।

रोपेको चौथो वर्ष देखि उत्पादन दिन सुरु गर्ने र ८ महिनामै फल तयार हुने हुँदा पछिल्लो समय गुल्मीमा यो खेती तर्फ किसानको आकर्षण बढिरहेको छ । गुल्मीमा ६८ हेक्टर क्षेत्रफलमा वार्षिक ४० टन किवी उत्पादन हुँदैआएको कृषि ज्ञान केन्द्र गुल्मीले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button