तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह उपनिर्वाचन : उम्मेदवारका लागि खर्चको हद निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरेको छ ।

File Photo

स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन तथा नियमावली बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने निर्णय गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले २ लाख र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button