तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण साउथ आरोहण गर्दाका तस्बिर पोखरामा प्रदर्शन

पोखरा । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरू बुधवारबाट प्रदर्शनीमा राखेको छ । जल्सिजम हिमालज फाउन्डेसनले उक्त आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो ।

एक साता चल्ने उक्त फोटो प्रदर्शनीको गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले बुधबार उद्घाटन गर्दै पोखरामा पर्वतीय पर्यटकको प्रचुर सम्भावना रहेको दाबी गर्नु भयो । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्य समेत प्रदर्शनीमा सहभागी हुनु भएको छ । 

जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किमी यात्रा गरी पोखरा आइपुगेको हो । संसारलाई अन्नपूर्ण साउथ आरोहणको उपलब्धि पुनस्मरण गराउने लक्ष्य सहित १० देश पार गर्दै ६ सदस्यीय टोली पोखरा आएको हो । 

उहाँहरू १९७९ मा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, सोमानिया, बुल्डेरिया, टर्की, इरान, पाकिस्तान, भारत हुँदै नेपाल आउनु भएको हो । अहिले पनि त्यो बेलाकै ट्रक र बाटो प्रयोग गरी टोली नेपाल आएको हो । टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका २ सदस्यको स्मरणसमेत गरेको उल्लेख गरेको छ । 

सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गर्नु भएको थियो । १९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने सङ्ग्रहालय नै यी तस्बिरहरूको सबैभन्दा उपयुक्त स्थान भएको बताउनु भयो । 

पहिले हिउँ अलि धेरै देखिने गरेको सम्झिँदै उहाँले हिउँ कम भएको र समय व्यतीत भएको बाहेक हिमालहरू उस्तै रहेको सुनाउनु भयो । पोलिस संस्कृति प्रवद्र्धन गर्न टोलीले पोखरामा फोटो प्रदर्शनी गरेको हो । अहिले ल्याइएको जेल्स ट्रक डिसेम्बरसम्म पोखरामै रहनेछ ।

आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने पर्वतीय महोत्सवका आकर्षक रुपमा यी तस्बिर र ट्रक समेत रहने संग्रहालयका कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेले बताउनु भयो । पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको सङ्ग्रहालय गएको वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेको उहाँले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button