तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौँ । अमेरिकासँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १/१ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टि ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button