तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा ४१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

चितवन । चितवनमा कार्तिक २ र ३ गते ४१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ भने ३८ हजार बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभरका झन्डै १५० स्वास्थ्य संस्थाबाट भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो । कार्यालय प्रमुख दिनेश रुपाखेतीले भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र तथा वडा कार्यालयले तोकेका स्थानहरूमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको प्रमुख रुपाखेतीले जानकारी दिनुभयो । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते देशभर नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेशभरका १३ जिल्लामा यो कार्यक्रम चलाइएको थियो ।

चितवनमा छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइएको कार्यक्रमका फोकल पर्सन चन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button