तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रभाषाको संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

गोरखापत्र संस्थानमा आज आयोजित कार्यक्रममा ‘रानाथारु’ भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भाषाको विकास र संरक्षणले सम्बन्धित भाषा बोल्नेहरूको साहित्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले संस्थानका प्रकाशनहरूलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जोड दिँदै गोरखापत्रको डिजिटल प्रकाशनलाई प्रभावकारी बनाउन संस्थान पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।

गोरखापत्र दैनिकको अन्तर्राष्ट्रिय, विचार, राजनीतिकसहित अन्य विषयलाई समयसापेक्ष गुणस्तरीय बनाउन निर्देशन दिँदै उहाँले संस्थानका प्रकाशनहरूले सरकारको प्रतिनिधित्व गर्ने हुनाले समाचार सामग्री सन्तुलित, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

रानाथारु भाषाको प्रकाशनसँगै गोरखापत्रमा अब ४४ भाषाका सामग्री पढ्न सकिने भएको छ । दैनिकमा प्रकाशित सबै भाषाका ‘पिडिएफ कपी’ गोरखापत्र अनलाइनमा हेर्न र पढ्न सकिन्छ । गोरखापत्रमा बहुभाषिक ‘नयाँ नेपाल’ पृष्ठ २०६४ असोज १ गतेदेखि प्रकाशन सुरु भएको थियो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ गोरखापत्रको गौरव भएको बताउँदै संस्थानका प्रकाशनले भाषा, साहित्य र समावेशीताका क्षेत्रमा उल्लेखनीय काम गरी जनतालाई सरकारसँग जोड्ने काम गरिरहेको बताउनुभयो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानले भाषा पृष्ठ प्रकाशनका लागि स्पष्ट मापदण्ड बनाएर भाषा पृष्ठहरू थप्ने काम गरिरहेको बताउनुभयो ।

नयाँ नेपाल विभागका प्रमुख विवेकानन्द मिश्रले गोरखापत्रमा प्रकाशन हुँदै आएका भाषा पृष्ठका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button