तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एक फिर्ता

हेटौँडा । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले आज दुई महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गर्नुभएको छ। यी विधेयकहरूमा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ मा संशोधन गर्ने विधेयक र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक समावेश छन् ।

यी दुवै विधेयक प्रदेश सभाबाट पारित भएपछि नेपालको संविधानको धारा २०१ अनुसार प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिएका थिए। प्रमाणीकरण पश्चात् यी विधेयकहरू प्रदेश राजपत्रमा प्रकाशित हुने र त्यसपछि कानूनी रूपमा लागू हुनेछन् ।

यसैबीच, प्रदेश प्रमुख देवकोटाले एउटा विधेयक फिर्ता पठाएका छन् । ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई उनले पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका हुन्। यो कदम नेपालको संविधानको धारा २०१ को उपधारा (३) अनुसार चालिएको हो।

प्रदेश सभा सभामुखलाई सम्बोधन गर्दै प्रदेश प्रमुखले यो विधेयक फिर्ता गरेको जानकारी दिनुभएको छ। संवैधानिक प्रावधान अनुसार, फिर्ता गरिएको विधेयकमाथि सभामा पुनः छलफल गरी आवश्यक संशोधनसहित पारित गरेर प्रमाणीकरणका लागि पठाउनु पर्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button