तपाईँ सुन्दै हुनुहुन्छः

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री पुर्‍याउन सक्दो पहल गर्छौं : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गर्नुभयो । “विपद्पछि पानीको स्रोतमा हुने प्रदूषण र फोहरका कारण पखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेङ्गु र जापानिज इन्सेफ्लाइटिसजस्ता सङ्क्रमणबाट पीडित हुन नपरोस् । हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित क्षेत्रमा पठाएका छौँ,” उहाँले भन्नुभयो । सम्बन्धित ठाउँमा ती सामग्री पुगे नपुगेको बारे स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।”

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित सङ्कटको चुनौतीबाट पार पाइ नसकेको बताउनुभयो । “हामीले विपद्का समयमा घाइतेको निःशुल्क उपचारको प्रयत्न गर्‍यौँ । तर अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ । नागरिकको स्वास्थ्यको रक्षा गर्न आवश्यक हरेक प्रयत्नमा हामी तपाईँको साथमा छौँ ।”

तीनै तहका सरकारको सहकार्यमा स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न सङ्घीय सरकारले गरिरहेको र कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म तथा सङ्क्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उहाँले अनुरोध गर्नुभएको छ ।

मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button