तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार गौतमको पुलहाश्रमको तस्बिर उत्कृष्ट घोषित

म्याग्दी । म्याग्दीको प्रवासी नेपाली सङ्घ (मोना) अस्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीले आयोजना गरेको खुल्ला फोटो प्रतियोगितामा पत्रकार हरिकृष्ण गौतमले खिचेको बेनी नगरपालिका–५ मा अवस्थित पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको तस्बिर उत्कृष्ट घोषित गरिएको छ । उक्त तस्बिर खिचेबापत गौतम रु एक लाख नगदबाट पुरस्कृत हुनुभएको छ । 

म्याग्दीको प्रवासी नेपाली सङ्घ (मोना) अस्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिकस्थलको प्रवद्र्धनका लागि आयोजित प्रतियोगितामा पत्रकार गौतमको पुहलाश्रमको तस्बिर पहिलो भएको हो । फोटो प्रतियोगिताका संयोजक बाबुराम पौडेलका अनुसार गौतमको तस्बिरमा पुलहाश्रम, सदरमुकाम बेनीबजार, म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल, पर्वतको जलजला गाउँपालिका समेटिएको छ । 

प्रतियोगितामा  बेनी नगरपालिका–९ तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबारमा रहेको पदमार्गसहितको दृश्यावलोकन गर्ने स्थानको तस्बिरले रु ५० हजार राशिको दोस्रो पुरस्कार जितेको छ । त्यस्तै रघुगङ्गा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको स्थानीय भगवती मन्दिरको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगितामा सहभागी घनश्याम खड्काको तस्बिर फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, देवी जिसीको मालिकाधुरीको तस्बिरले धार्मिक अवार्ड तथा खड्गबहादुर छन्त्यालको ताकमस्थित हनुमान मूर्तिको तस्बिरले मोष्ट कमेन्ट अवार्ड जितेको प्रतियोगिताका संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँहरूले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button