तपाईँ सुन्दै हुनुहुन्छः

‘विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ’

धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट नागरिकहरू पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीतिक र आग्रह-पूर्वाग्रहमा बसेर काम नगर्न आग्रह गर्नुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै मन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढङ्गले काम गर्नुपर्छ भन्नुभयो । खोजी र उद्धारको काम निरन्तर चलिरहने बताउँदै उहाँले अहिलेको अवस्था विस्थापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधी लुगाफाटोको व्यवस्था हुन नसकेकालाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनका लागि चार वटा तह रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सङ्घमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सङ्घमा विपद् व्यवस्थापन परिषद् र प्रदेशमा कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र पालिका स्तरमा स्थानीय विपद् व्यवस्थापन समिति सबैले आ–आफ्नो तहबाट समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्ने काम भइरहेको बताउनुभयो ।

विपद्मा परेका परिवारलाई दुई लाख राहत दिने भनेर सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित पालिकाले विवरण उपलब्ध गराएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल वितरण गर्ने र घर पूर्ण रुपमा क्षति भएर अर्को बस्न योग्य घर नभएकालाई स्थानीय तहले सिफारिस गरेर पठाएको आधारमा तीन दिनभित्र अस्थायी घर निर्माणको लागि पहिलो किस्ता २५ हजार उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै खाद्यान्नको लागि पाँच जनासम्मको परिवार भएकालाई १५ हजार र त्यसभन्दा बढी भएमा ३० हजार रुपैयाँका दरले उपलब्ध हुने मन्त्री लेखकले जानकारी गराउनुभयो । त्यसका लागि स्थानीय तह, प्रदेश र सङ्घले आ–आफ्नो काम तत्काल गर्न उहाँले निर्देशन दिनुभयो ।

सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा काभ्रेपलाञ्चोकका केही पालिकामा मात्रै भएको र अरू पनि पालिका र वडाभित्र मात्रै भएको अवस्थामा त्यसलाई पनि समेट्नुपर्ने माग राखिएकामा मन्त्री लेखकले त्यसलाई प्रमुख जिल्ला अधिकारीबाट सिफारिस गरेर पठाउन आग्रह गर्नुभयो । उहाँले बाटो नभएका पालिकामा खाद्यान्न हेलिकोप्टरमार्फत व्यवस्थापन हुने जानकारी दिनुभयो । त्यससँगै गर्नुपर्ने क्षेत्रगत काम (विद्युत्, सडक, सञ्चार, खानेपानी र स्वास्थ्य)लाई तीव्रता दिन सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो ।

बैठकमा सङ्घीय सांसद सूर्यमान दोङले विपद्को बेलामा काम गरिरहेको सुरक्षा निकायलाई आवश्यक व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक, विद्युत्, सञ्चार पूरै बन्द रहेको कारण सबै तवरबाट पालिका बेखबरजस्तै भएको बताउनुभयो । सडक सञ्जालको लागि खोपासी–तालढुङ्गा, च्याल्टी–तालढुङ्गा र सुकमफेदी–तालढुङ्गा तीन वटा नै नाका पूर्ण रुपमा बन्द रहेकाले समस्याग्रस्त रहेको उहाँले सुनाउनुभयो । कुलेखानी ड्यामबाट बगेको पानीले वाग्मती खोलामा आएको बाढीबाट खानी खोलाको दुई वटा बस्ती पूर्ण रुपमा बगाएको, बाढी पहिरोबाट ३० वटा भन्दा बढी खानेपानीको संरचना, तीन सय किलोमिटरभन्दा बढी स्थानीय सडक क्षति, सिँचाइका २५ र विद्यालयको पाँच वटा र लघु जलविद्युत्का साट वटा संरचना ध्वस्त भएको पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न थिङले आग्रह गर्नुभयो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बिपी राजमार्ग वैकल्पिक बाटोबाट नार्केसम्म पुगे पनि भरपर्दो नभएको र क्षतिको विवरण ल्याउन वल्लो घरदेखि पल्लो घरसम्म जान नसक्ने स्थिति रहेको बताउनुभयो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोक जिल्लालाई पूरै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री तीर्थबहादुर लामा, कञ्चनचन्द्र बादे श्रेष्ठ, रुक्कु चौलागाई, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष भोला अर्याल, नेकपा (एमाले)का अध्यक्ष राजन भुर्तेल लगायतले विपद्का समयमा सरकारले गम्भीर भएर उद्धार, खोज, राहत, अस्थायी बासस्थान तथा पुनः बासको लागि ध्यान दिन आग्रह गर्नुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा भइरहेको विपद् व्यवस्थापनको गतिविधि र गरिरहेको प्रगतिको बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button