तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

file photo

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पानीका लागि तड्पिइरहेका काठमाडौँका नागरिकलाई दसैँभन्दा अगाडि नै खानेपानी खुवाउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो ।

काठमाडौँमा मेलम्चीको पानी ल्याउन र मेलम्ची खानेपानीको अवरोध खुलाउनका लागि आफू मेलम्चीवासीका घरमै पुगेर अनुरोध समेत गर्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीवासीका समस्या के हुन्, कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मसहित सिङ्गो मन्त्रालय तयार छ । मेलम्ची खानेपानीको अवरोध खुलाउन र काठमाडौँका पानी ल्याउन म उहाँहरूको घरैमा पुग्छु ।”

यसैगरी मन्त्री यादवले मेलम्चीका पीडित नागरिकका जायज मागलाई सम्बोधन गराउन आफू हरतरह लागि परेकाले मेलम्चीवासीको मागको सहमति नजिक पुगेको जानकारी दिनुभयो । बाढीपहिरोका कारण पछिल्लो समय मुलुकमा असहज परिस्थिति रहेको भन्दै उहाँले परिस्थिति बुझ्न र काठमाडौँमा पानी पठाउन मेलम्चीवासीसँग आग्रह गर्नुभयो ।

मेलम्चीका स्थानीयवासीले राखेका जायज मागलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने मन्त्री यादवले जानकारी दिनुभयो । सोही क्रममा मन्त्री यादवले केही दिन पहिले आफू दक्षिणकालीका नागरिकका घरैमा पुगेर बिन्ती बिसाएपछि ललितपुरमा खानेपानी सहजरूपमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

हालैको अविरल वर्षाका कारण गएको बाढीपहिरोले देशका २१ जिल्लामा ठूलो क्षति पुर्‍याएको र खानेपानीमा मात्रै करिब साढे रु तीन अर्बको क्षति पुर्‍याएको मन्त्री यादवको भनाइ छ । बाढीकै कारण काठमाडौँका महाकाल मैदानमा भएका मेसिनरी वस्तुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त भएकाले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button