तपाईँ सुन्दै हुनुहुन्छः

चन्दननाथ मिनी मार्केटबाट डेढ करोडको रैथाने वस्तु विक्री

जुम्ला । चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित चन्दननाथ अर्ग्यानिक मिनि मार्केटले आन्तरिक बाह्य पर्यटकको मागअनुसार सबै प्रकारका रैथाने वस्तु सस्तो मूल्यमा लेवलिङ प्याकेजिङ गरेर विक्री गर्दै आएको छ ।

मिनी मार्केटको तथ्यांकनुसार गत आर्थिक वर्षमा मात्रै डेढ करोडको अर्ग्यानिक रैथाने वस्तु विक्री भएको छ । मिनि मार्केटले विक्री गरेको डेढ करोडको अर्ग्यानिक वस्तु सबै जिल्ला बाहिर र देश बाहिर मात्रै पुगेको छ । जसले गर्दा जुम्लाको अर्ग्यानिक वस्तुको माग बढाएको छ ।

सिमि, मार्सी चामल, ओखर, स्याउका चाना, सिस्नोको धुलो, फापरको पिठो, चिनो, कागुनो, राडीपाखी, मह लगायतका ३० प्रकारका रैथाने बाली प्याकेजिङ गरेर विक्री गर्दै आएको मिनि मार्केटले जनाएको छ ।

तथ्यांकनुसार गत आवमा ३५ लाखको सिमि, ३० लाखको मार्सी चामल, २३ लाखको फापरको पिठो, पाँच लाखको काँचो मह, २९ लाखको स्याउका चाना, ९ लाखको ओखर, १४ लाखको राडीपाखी विक्री गरिएको छ ।

त्यस्तै, चार लाख ८० हजारको लिउ(उनबाट बनेको ओछ्याउने), १० लाख ५० हजारको कोटे पकडा उनको, पाँच लाख ९५ हजारको चिनो, चार लाख ८० हजारको कागुनो र नौ लाख ९५ हजारको सिस्नो गरेर गत वर्षमा कूल एक करोड ५२ लाख ८० हजारको अर्ग्यानिक रैथाने वस्तु मिनि मार्केटबाट विक्री भएको चन्दननाथ सहकारीका सामुदायिक विभाग प्रमुख गोर बहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार मिनि मार्केटमा दशै तिहार र चैत वैशाखको समयमा अत्यधिक अर्ग्यानिक वस्तुको माग हुन्छ ।

गत आवमा एक करोड ६९ लाख बराबरको अर्ग्यानिक वस्तु खरिद गरिएकोमा एक करोड ५२ लाखको विक्री भइसकेको छ । हाल १७ लाख बराबरको वस्तु मौज्दात छ । यो दसैँमा सबै सकिने अनुमान छ । मिनि मार्केटले गत आवमा खुद आम्दानी मात्रै ३० लाख बढी गरेको छ भने ७ जनालाई नियमित रोजगारी दिइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button