तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा मन्त्री र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।

काठमाडौँमा बिहीबारदेखि हुन लागेको नेपाल–बङ्गलादेश ऊर्जा व्यापार सम्झौताका लागि नेपाल आउनुभएकी हसनले आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्कासँग भेट गर्नुभएको हो ।

भेटमा मन्त्री खड्काले बङ्गलादेशको अन्तरिम सरकारको मन्त्री भएकामा हसनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशको सम्बन्ध झन् प्रगाढ हुँदै आएको बताउनुभयो ।

मन्त्री खड्काले नेपालको प्रचुर जलविद्युत् सम्भाव्यता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशको ऊर्जा सहकार्यलाई आजको भेटले अझ प्रगाढ बनाउने उल्लेख गर्नुभएको मन्त्रालयका उपसचिव मनोज पन्थले जानकारी दिनुभयो । ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बङ्गलादेशका सचिवस्तरीय बैठक बसिरहेको उल्लेख गर्दै उहाँले उक्त बैठक दुई देशको ऊर्जा विकासमा फलदायी हुने बताउनुभयो ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौताका लागि पहलकदमी लिएको भन्दै बङ्गलादेश सरकारलाई धन्यवाद दिनुभयो । त्रिपक्षीय सम्झौतासँगै भारतीय प्रसारण लाइन हुँदै नेपालले जुनदेखि नोभेम्बरसम्म ४० मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । उक्त सम्झौतासँगै दुई देशबीच ठूलो सम्भावनाको रुपमा रहेको विद्युत् व्यापारको ढोका खोलिने मन्त्री खड्काको भनाइ छ ।

ऊर्जा मन्त्री खड्काले नेपाल–भारत–बङ्गलादेशबीच विद्युत् क्षेत्रमा सहकार्य तथा विद्युत् व्यापार प्रवर्द्धनका लागि त्रिपक्षीय संयुक्त सञ्चालन समिति र त्रिपक्षीय संयुक्त कार्यदल गठन गर्न आवश्यक रहेको र यसका लागि भारतीय पक्षलाई अनुरोध गर्नुपर्ने उल्लेख गर्नुभएको उपसचिव पन्थले बताउनुभयो ।

उहाँले ६ सय ८० मेगावाट क्षमताको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना चाँडो अगाडि बढाउनुपर्ने, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरिदका लागि बङ्गलादेश पावर डेभलपमेन्ट वोर्ड र भारतको जीएमआरबीचको विद्युत् बिक्री सम्झौता अन्तिम चरणमा पुगेको भन्दै त्यसलाई चाँडो अगाडि बढाउनुपर्ने बताउनुभयो ।

भेटमा मन्त्री हसनले नेपालबाट बङ्गलादेशमा ऊर्जा आयत गर्ने अघिल्लो सरकारको निर्णयलाई वर्तमान सरकारले निरन्तरता दिएको बताउनुभयो । उहाँले बङ्गलादेशमा भइरहेको गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ अहिलेको सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युत् आयोजनाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले ४० मेगावाटका लागि ऊर्जा सम्झौता गरे पनि भविष्यमा नेपालबाट ठूलो मात्रामा विद्युत् आयत गरिने मन्त्री हसनले बताउनुभयो । नेपालको जलविद्युत् क्षेत्रमा बङ्गलादेशले आगामी दिनमा लगानी बढाउँदै लैजाने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button