तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग मन्त्री भण्डारीसँग विश्व व्यापार सङ्गठन सचिवालयका प्रतिनिधिको भेट

काठमाडौँ । विश्व व्यापार सङ्गठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो व्यापार नीति समीक्षाको सन्दर्भमा विश्व व्यापार सङ्गठन सचिवालयका प्रतिनिधि मासाहिरो हायाफुजी र ठाकुर पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गर्नुभएको छ ।

सिंहदरबारमा भएको भेटका क्रममा विश्व व्यापार सङ्गठनका प्रतिनिधि हायाफुजीले सन् २०१८ मा सम्पन्न नेपालको व्यापार नीतिको दोस्रो समीक्षा पश्चात् हालसम्म व्यापार तथा व्यापार सम्वद्ध नीति, कानुन तथा समग्र प्रयासहरूको प्रारम्भिक जानकारी सङ्कलन गरी समीक्षालाई वस्तुपरक बनाउन विभिन्न निकायसँग समन्वय गरिरहेको विषय जानकारी गराउनुभयो ।

यो समीक्षाको प्रारम्भिक बैठकबाट नेपालको व्यापार सम्बद्ध नीति तथा कानुनहरूको पुनरावलोकन गरिनेछ । विश्व व्यापार सङ्गठन स्थापना गर्ने माराकेश सम्झौताको अनुसूची ३ बमोजिम हरेक सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हुने गर्दछ । नेपालले हालसम्म सन् २०१२ मा पहिलो समीक्षा र सन् २०१८ मा दोस्रो समीक्षा सम्पन्न गरिसकेको छ ।

समीक्षाको क्रममा विभिन्न चरणका बैठकहरू मार्फत सूचना सङ्कलन गरी सन् २०२५ मा विश्व व्यापार सङ्गठनको सचिवालयले “सचिवालयको प्रतिवेदन” तथा नेपाल सरकारको तर्फबाट समेत “सरकारको प्रतिवेदन” समेत तयार गरि विश्व व्यापार सङ्गठनको Trade Policy Review Body (TPRB) मा प्रस्तुत गरिनेछ ।

भेटमा मन्त्री भण्डारीले नेपालले नीतिगत, कानुनी तथा रणनीतिक उपायहरू अवलम्बन गरी विश्व व्यापार सङ्गठन मार्फत नेपालको व्यापार तथा लगानी प्रवर्द्धनमा हातेमालो गर्न अग्रसर रहेको बताउनुभयो । साथै, सरकारले हाल सालै व्यापार तथा लगानीको वातावरणलाई सहज, सरल र पारदर्शी बनाउन निजी क्षेत्र मैत्री कानुन निर्माण र कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।

नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात् नेपालको निर्यात व्यापारलाई अभिवृद्धि गर्न आइपर्ने चुनौतीहरूको सामना गर्न समयमै पूर्व तयारी गर्न मन्त्रालय लागि रहेको र यसमा विश्व व्यापार सङ्गठनको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button