तपाईँ सुन्दै हुनुहुन्छः

रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति

धुलिखेल (काभ्रेपलाञ्चोक) । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ । वर्षासँगै आएको बाढीपहिरोबाट जनधनको क्षति हुनुका साथै बस्ती, औद्योगिक ग्राम र डम्फु जीवन्त सङ्ग्रहालय बगाएको हो ।

रोशी गाउँपालिकाले बाढी पहिरोबाट अर्बौँको क्षति व्यहोर्नु परेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल भवनसहित सो क्षेत्रको बस्ती, रोशी–११ कालढुङ्गामा रहेको औद्योगिक ग्राम र सोही ठाउँमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालयसहितको उद्यान बगाएको उहाँले जानकारी दिनुभयो ।

पक्की तथा झोलुङ्गे पुल, नार्क पुल र कालढुङ्गाको बस्ती बगाएको छ भने वडा नं ४ थिङटोलमा सात घर पहिरोले पुरेर क्षति पुर्याएको अध्यक्ष लामाले जानकारी दिनुभयो । पालिकाभित्र मात्रै १२ जनाको मृत्यु भएको छभने ५२ जना घाइते भएका उहाँले बताउनुभयो ।

बाढीपहिरोबाट सडक, विद्युत्, टेलिफोन, खाद्यान्न र खानेपानीको तत्काल आपूर्ति गर्न स्थलमार्ग सबै टुटेकाले हवाईमार्ग वा हेलिकप्टरको सहायताबिना सम्भावना नहुने बताउँदै अध्यक्ष लामाले त्यसका लागि तीनै तहका सरकारले गर्नुपर्ने कामको वर्गीकरण सहकार्य र समन्वयबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबाले सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले यकिन विवरण सङ्कलन गर्न समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्ममा १२ वटा विद्यालय भवनमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

रोशी–८ मा रहेको देवीश्वरी प्रावि, वडा नं ५ सिसाखानी घिसिङ टोलको विद्याविकास भवनको कक्षाकोठा र विद्यालय परिसर पुरिएको, वडा नं ७ को अमरनाथ प्रावि परिसरसहित रोशी खोलाले कटान गरेको, वडा नं ९ मङ्गल जनविजय मावि परिसरमा बाढी पसेर कम्पाउण्ड वाल बगाएको, वडा नं १० पञ्चकन्या मावि वाल्टिङ विद्यालयमा बाढी पसेर क्षति भएको, वडा नं ११ कालढुङ्गामा रहेको शान्तिबुद्ध प्राविको भवन खोलाले कटान गरेको र वडा नं ४ ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिममा रहेको उपाध्यक्ष वाइबाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ११ भीमेश्वर माविको पर्खालमा क्षति भएको, वडा नं ५ लुर्पुङ भूमेस्थान माविको कक्षाकोठामा भल पसी क्षति हुनाका साथै पहिरोले भवन चर्किएको, वडा नं १० महाभारत प्रावि भवनमा पहिरो पसी एउटा कक्षाकोठा पुरेको तथा विद्यालय कम्पाउण्ड बगाएको, वडा नं ३ मसराङगीमा रहेको भूमेस्थन प्राविमा पहिरोले विद्यालय कम्पाउण्ड र कक्षाकोठा पुरेको र वडा नंं ९ मा रहेको भूमेस्थान प्रावि सल्लेनीमा पहिरोले विद्यालय भवन आंशिक पुरेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button