तपाईँ सुन्दै हुनुहुन्छः

सोलु–काठमाडौँ नयाँ रुट सञ्चालन

सोलुखुम्बु । केही दिनअघिको बाढी पहिरोको कारण विपी राजमार्ग बन्द भएपछि हिमाली जिल्ला सोलुखुम्बुदेखि काठमाडौँ सडक यात्राका लागि नयाँ रुट सञ्चालनमा आएको छ ।

सल्लेरीबाट सोलुखुम्बुको सल्लेरीटाक्टोर–लामाजुरा–किञ्जा–वाम्तीभण्डार जिरी हुँदै काठमाडौँसम्मको रुट सञ्चालनमा ल्याउँदै पहिलो दिन विभिन्न यातायात प्रा।लि।ले सल्लेरीबाट ८ वटा सुमो जीप छुटाएको यातायात व्यवसायीहरूले जानकारी दिएका छन्।

दशैँको मुखमा सोलुखुम्बु आउने र राजधानी भित्रिने यात्रुका लागि सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको संयोजकत्वमा मङ्गलवार यातायात व्यवसायीसँग भएको छलफलपछि बाटोको अवस्थाको विश्लेषण गरी आजबाट सेवा शुरु गरेको हो।

सवारी साधन छुटाएसँगै बुधबारनै नगरप्रमुख शेर्पा सहित ट्राफिक प्रहरी, यातायात व्यवसायी, चालक लगायतको टोलीले नयाँ रुटको अवलोकन, अनुगमन समेत गरी सोलुदूधकुण्ड नगरपालिकाको सीमाना लामाजुरासम्म पुगेर यात्रुहरूलाई बिदाइ गरी फर्केको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो। शेर्पाका अनुसार यो रुट सञ्चालनमा आएपछि दशैँमा आवतजावत गर्ने सोलुवासीलाई केही सहज हुने छ ।

विपी राजमार्ग अवरुद्ध भएपछि विकल्पको रुपमा कटारी, भिमान, हेटौँडा हुँदै राजधानी जान शुरू भएपनि जिरीको बाटो अलि छोटो र सहज हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button