तपाईँ सुन्दै हुनुहुन्छः

इयूका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा, लेबनानबारे छलफल हुने

ब्रसेल्स । इजरायलले लेबनानमा हवाई आक्रमण जारी राखेका बेला युरोपेली विदेश मन्त्रीहरू लेबनानको अवस्थाबारे सोमबार आपतकालीन वार्ता गर्ने ब्रसेल्सले जनाएको छ ।

इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो । 

लेबनानको विदेश नीति प्रमुख जोसेप बोरेलले लेबनानको पछिल्लो तनावप्रति इयूको प्रतिक्रियाबारे छलफल गर्न स्थानीय समयअनुसार दिउसो ३ः०० बजे भर्चुअल बैठक बोलाइएको इयूका एक प्रवक्ताले बताएका छन् ।

इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबिचको द्वन्द्वलाई थप व्यापक बन्न नदिन अन्तर्राष्ट्रिय शक्तिहरू दौडधुप गरिरहेका छन् ।

विगत एक वर्षदेखि यस क्षेत्रमा व्याप्त हिंसा नियन्त्रणका लागि अहिलेसम्म एउटै स्वरमा बोल्न वा धेरै प्रभाव पार्न २७ सदस्यीय युरोपियन युनियन (इयू) ले सङ्घर्ष गरिरहेको छ । 

गत वर्ष गाजामा युद्ध सुरु भएयता इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागमा सोमबार पहिलो हवाई आक्रमण गरेको थियो जसमा चार जनाको मृत्यु भएको थियो ।

लामो समयदेखि हिजबुल्लाह समूहका प्रमुख रहनुभएका नसरल्लाहको इजरायलले शुक्रबार गरेका हवाई आक्रमणमा मृत्यु भएको थियो । 

लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा घातक दिन गत सोमबारदेखि इजरायली आक्रमणमा सयौँको मृत्यु भएको छ ।

पछिल्लो एक हप्तामा इजरायली बमबारीमा १४ जना प्यारामेडिक्ससहित ७०० भन्दा बढीको मृत्यु भएको लेबनानी मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले लेबनानमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएको र एक लाखभन्दा बढी छिमेकी मुलुक सिरियातर्फ भागेको बताएका छन् ।

गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि बदलामा गाजामा इजरायलले गरेको विनाशकारी आक्रमणको करिब एक वर्षपछि अहिले हिजबुल्लाहलक्षित आक्रमण भइरहेको छ ।

हमासको निकट सहयोगी हिजबुल्लाहले हमासको आक्रमणपछि उत्तरी इजरायलमा आक्रमण तीव्र पारेको छ, जसका कारण दशौं हजार इजरायली विस्थापित भएका छन् ।रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button