तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

बैतडी । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट  महाकालीमा लडेर बेपत्ता हुनुभएको थियो ।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खस्नुभएको हो । बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button