तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा बाढी पहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

काठमाडौँ । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।

हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।

काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button