तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण बागमती प्रदेश बढी प्रभावित

काठमाडौँ। मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।

बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् ।

अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ ।

कोसी प्रदेशका धनकुटालगायत क्षेत्रमा केही क्षतिको विवरण प्राप्त भएको मन्त्रालयको भनाइ छ । पश्चिमतर्फ कालीगण्डकी करिडोर पनि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन स्थानीयको सहयोगमा सुरक्षाफौज र सडक विभागले काम पनि गरिरहेको छ । मानवीय र भौतिक क्षतिलाई न्यून गर्न मन्त्रालयको प्रयास केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ । मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छ र १४ वटा चेतावनीको अवस्थामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button