तपाईँ सुन्दै हुनुहुन्छः

‘कार्यकारी निर्देशक लामालाई डम्फु उपहार’

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा सम्मानित हुनु भएको छ ।
नेपाल राष्ट्रिय तामाङ घेदुङले आफ्नो निर्माणाधीन साँस्कृतिक भवन बुढानिलकण्ठ काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी तामाङहरूको साँस्कृतिक बाजा ‘डम्फु’द्वारा सम्मान गरेको हो ।

नेपालको पहिलो विद्युतीय सञ्चारमाध्यम रेडियो नेपालको कार्यकारी निर्देशकमा भरखरै नियुक्त हुनु भएका लामालाई रेडियो नेपालले तामाङ समुदायको संस्कार, संस्कृति, साहित्य र सङ्गीतलाई जगेर्ना गर्न विशेष भूमिका निर्वाह गर्न सकोस् भन्ने उद्देश्यका साथ उहाँलाई तामाङ जातीको साँस्कृतिक बाजा ‘डम्फु’द्वारा सम्मान गरिएको राष्ट्रिय घेदुङले जनाएको छ ।

सम्मानित कार्यकारी निर्देशक लामाले राष्ट्रिय घेदुङको यो सम्मानलाई आभार प्रकट गर्नुहुँदै रेडियो नेपालको प्रसारणलाई थप समावेशी बनाउन पहल गर्ने बताउनुभयो । कार्यक्रममा अर्का सम्मानित संघीय ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर (कान्छाराम) तामाङले एकतामा नै बल हुने भएकोले सम्पूर्ण तामाङ जातीको उत्थानको सवालमा राजनीतिक दल छोडेर तामाङ बन्न आग्रह गर्नुभयो । उहाँले आफू उज्यालो नेपाल बनाउने अभियानमा रहेकाले निर्माणाधीन तामाङ साँस्कृतिक भवनका लागि तुरुन्तै सोलार बत्ती उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

यसैगरी पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले रेडियो नेपालको ७४ वर्षे इतिहासमा पहिलो पटक तामाङ समुदायबाट २० औँ कार्यकारी निर्देशक बन्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै तामाङ समुदायबाट कुलमान घिसिङ, बहादुरसिं लामा, अमरध्वज लामा–बल, पूर्ण बहादुर (कान्छाराम) तामाङ जस्ता व्यक्ति जन्मिनु र जन्माउन सक्नुपर्ने बताउनु भयो ।

साँस्कृतिक भवन निर्माणका लागि जग्गा दान गर्नुभएका पूर्व क्याप्टेन तथा राष्ट्रिय घेदुङका प्रमुख सल्लाहाकार देव कुमार लामा (डिके बुदिष्ट)ले अध्ययन र रोजगारीका लागि विदेशीरहेका नेपाली त्यसमा पनि तामाङ युवाहरूलाई देशमै रोजगारीको अवसर प्रदान गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय घेदुङका महासचिव प्रवीण बलले लामो समयदेखि तामाङहरूको साँस्कृतिक भवन निर्माणाधीन अवस्थामै रहेको र आगामी मङ्सिरभित्र भवन निर्माण सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेकाले सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button