तपाईँ सुन्दै हुनुहुन्छः

सबैको अधिकार समेट्ने गरी संविधान संशोधन गरिन्छ : सभापति देउवा

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश सम्पूर्ण जातजाति, भाषाभाषी, आदिवासी, जनजातिको साझा घर भएको हुँदा सबैको अधिकार समेट्ने गरी संविधान संशोधन गरिने बताउनु भएको छ ।

वीरगन्ज महानगरपालिका–२४ मा निर्माण गरिएको आत्माराम ओझा–दुखा सहनी स्मृति भवन तथा नेपाली कांग्रेस पर्साको पार्टी कार्यालय भवनको आज एक समारोहबिच उद्घाटन गर्नुहुँदै उहाँले आत्माराम ओझा र दुखा सहनीको योगदानका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको दाबी गर्नुभयो ।

उहाँले पर्सा जिल्ला ऐतिहासिक जिल्ला भएको र सहिद थिर बम मल्ल, तेज बहादुर अमात्य जस्ता सपुतले सहादत प्राप्त गरेको भूमि भएको बताउँदै पर्साको विकासले समग्र मदेशको प्रतिनिधित्व गर्ने हुँदा कांग्रेस कार्यकर्ताहरू ऐक्यबद्ध भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

सभापति देउवाले मुलुकले सडक, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै अब आर्थिक समृद्धितर्फ सबै जुट्नुपर्ने बेला आएको दाबी गर्नुभयो ।

कार्यक्रममा कानुन न्याय तथा सदस्य व्यवस्था मन्त्री अजय चौरसियाले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको कारण मुलुकमा तिन तहको सरकारले जनभावना अनुरुप काम अगाडी बढाई रहेको दाबी गर्दै सबैलाई अधिकार सम्पन्न गर्न अझै बाँकी रहेको हुँदा त्यसका लागि संविधान संशोधन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रजातन्त्रका लागि आत्माराम ओझा र दुःख सहनीले १७/१७ बर्ष जेल बसेर देखेको सपना पुरा गर्ने बेला आएको बताउँदै संविधान संशोधन मार्फत पछाडि परेको वर्ग, समुदाय, जाति, जनजाति, मधेशी, थारु, आदिवासी, मुस्लिमको अधिकार पुरा गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडी बढाउनु पर्ने कुरामा जोड दिँदै अबको लडाई अशिक्षा, गरिबी र बेरोजगारी विरुद्धको भएको बताउनुभयो ।

नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गाना, अनिल रुगटा, श्याम पटेल, शङ्कर चौधरी, नगिना यादव लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्लाको रहेको छ ।

पहिलो तल्लामा कार्यालय र दोस्रो तल्लामा सभा हल निर्माण गरिएको नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मीले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण पार्टी सचिव इम्तियाज आलमले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button