तपाईँ सुन्दै हुनुहुन्छः

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

म्याग्दी । ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लब टुकुचेले जितेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे विजयी भएका हुन् ।

पुरुषतर्फ अन्नपूर्ण युवा क्लब ताक्लुङलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै लेतेले उपाधि चुमेको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

महिलातर्फ राष्ट्रिय टिमकी प्रतिभा माली, सलिना श्रेष्ठलगायतका खेलाडीलाई मैदानमा उतारेको निलगिरिले मार्फाको मिलीजुली युवा क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो । लिग सिस्टम र वेष्ट अफ फाइचमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ छ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए ।

आर्चरी प्रतियोगितामा धौलागिरी युवा क्लब कोवाङ प्रथम र निर्मल स्पोटिङ लेते दोस्रो भएका छन् । पुरुष भलिबलमा विजेता र उपबिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।

महिला भलिबलको विजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आर्चरीमा विजेतालाई रु ५० हजार र उपबिजेतालाई रु २५ हजार प्रदान गरिएको छ ।

५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्त्व छ । सो अवसरमा कृषि मेला प्रदर्शनीका साथै लोक नृत्य र थकाली गीत प्रतियोगिता पनि भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button