तपाईँ सुन्दै हुनुहुन्छः

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । 

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहीन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button