तपाईँ सुन्दै हुनुहुन्छः

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

राजविराज (सप्तरी) । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताउनुभएको छ ।

सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा आज जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री चौधरीले आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने बताउनुभयो ।

“१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले प्रतियोगिता अब अगामी फागुनमा सञ्चालन गछौँ”, उहाँले भन्नुभयो । उक्त प्रतियोगिताको तयारीमा जुट्न मन्त्री चौधरीले खेलाडीहरूलाई आग्रह गर्नुभयो । कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले उक्त प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको उहाँले स्पष्ट पार्नुभयो ।

“चिसोको समयमा बसोबासको समेत समस्या हुन्छ, यसलाई ध्यानमा राख्दै फागुनमा चिसो कम हुने भएकाले त्यही बेला राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ”, मन्त्री चौधरीले भन्नुभयो । अहिलेकै अवस्थामा सो प्रतियोगिता गर्ने अवस्था नरहेको उहाँको भनाइ थियो । यस अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा आयोजना गर्ने घोषण गरेको थियो ।

सो अवसरमा मन्त्री चौधरीले जनताको चाहना अनुसार सरकारी कार्यालयमा काम काज गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

कर्मचारीहरूलाई उहाँले भन्नुभयो, “तपार्इँहरु समयमै आफ्नो कार्यालयमा आइदिनुस् र जनताको काम काज गरेर जानुस् ।” आफ्नो दायित्व निभाएर छिटोछरितो ढङ्गले काम गर्न उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button