तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा लामिछानेविरुद्ध नाराबाजी, रास्वपाका नेता कार्यकर्ता भने पक्षमा 

पोखरा । पोखरामा आज रवि लामिछानेको पक्षमा तथा उहाँको विपक्षमा छुट्टा छुट्टै बिरोध प्रदर्शन भएको छ । एक समूहले रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै बिरोध गर्नु भएको छ भने अर्को समूहले रविले सहकारीको रकम हिनामिना गरेकोले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै नाराबाजी गर्नु भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गर्दा पोखरा शहिद चोक क्षेत्रमै सहकारीका पीडितहरूले सहकारीको रकम हिनामिना गर्ने रविलाई पनि पक्राउ गरी आवश्यक कारबाही गर्न माग गर्नु भएको हो । 

राजनीतिक पूर्वाग्रह राखेर रविलाई फसाउन खोजिएको दाबी गर्दै रविका पक्षधरहरूले भ्रष्टाचारी वाई वाई रवि दाइ हाई हाई भन्दै नारा लगाउनु भएको थियो । रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरू भेला भएर प्रदर्शन गर्नु भएको थियो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड प्रदर्शन गर्नु भएको थियो । 

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीवी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो । जोशीलाई भने प्रहरीले पक्राउ परेलगतै रविले आफू पनि पक्राउ पर्न सक्ने भन्दै कार्यकर्तालाई अलर्ट हुन आव्हान गर्नु भएको थियो । जोशीलाई जिल्ला अदालतले आज ५ दिन म्याद थप गरेको छ । 

सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक डिआइजी जोशी पक्राउ पर्नु भएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएर पोखरा ल्याएको हो । 

सहकारीका पीडितहरूले सहकारी रकम हिनामिना गर्ने रवि सहितका नेता कार्यकर्तालाई कडा कारबाही गर्न माग गर्दै जनताको पैसाले पार्टीका नेता कार्यकर्ता पाल्न पाइँदैन, जनताको रकम हिनामिना गर्नेलाई कारबाही गरे, बचतकर्ताको रकम फिर्ता गर लगायतका नारा सहकारी पीडितहरूले लगाउनु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button