तपाईँ सुन्दै हुनुहुन्छः

एकदिवसीय वाई वाई यू–१९ क्रिकेट छनौट प्रतियोगिता पोखरामा सुरु, कास्कीको विजयी सुरुवात 

पोखरा । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा आज (सोमबार) देखि पोखरामा एकदिवसीय वाई वाई यू–१९ क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । 

पहिला ब्याटिङ गरेको पर्वतले २८.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र जोड्न सफल भयो । ६९ रनको लक्ष्य पाएको घरेलु टिम कास्कीले १२.५ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । 

सोमबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उक्त प्रतियोगिताको उद्घाटन गर्दै युवा खेलाडी उत्पादन सँगै व्यावसायिक खेलाडी उत्पादनका लागि यस प्रकारका प्रतियोगिता महत्वपूर्ण हुने दाबी गर्नु भयो । 

खेलकुदमा स्रोतको अभाव नभई सोचको अभाव भएको बताउँदै उहाँले स्रोतलाई अघि सारेर सोचलाई बन्धक बनाउने कार्य भएको जनाउनु भयो । 

गण्डक प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै अघि बढेको दाबी गर्नु भयो । प्रतियोगिता ‘रोड टु वर्ल्ड कप’को रुपमा खेलाडीहरूले ग्रहण गर्नु पर्ने उहाँको भनाई छ । नेपाली क्रिकेटको जग बलियो बनाउन नै उमेर समूहका प्रतियोगिताहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष सिग्देलले खेलाडीहरूले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन समेत आग्रह गर्नु भयो । 

यही असोज १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहेको छ । एक दिवसीय फर्मेटमा सुरु भएको प्रतियोगितामा समूह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समूह ‘बि’मा नवलपुर, स्याङजा र बागलुङ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button