तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा तीन जना पक्राऊ

भक्तपुर । अमेरिकी डलर देखाई रु ६४ लाख नगद ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई  पक्राऊ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका–१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई जडिबुटीबाट पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान तथा कारवाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुर ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरूले भक्तपुर चाँगुनारायणका निरज थापालाई प्रलोभनमा पारि ठगेको खुलेको छ । थापालाई अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भनी प्रलोभनमा पारि नेपाली नगद रु चालिस लाख ठगेको प्रहरीले जनाएको छ ।

गत भदौ २८ गते उनीबाट नगद लिई ठगेको आरोपमा प्रहरीले तीनै जनालाई  नियन्त्रणमा लिएको हो ।

ठगी गरी फरार रहेका घटनाको अनुसन्धानको सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।यो समूहले अन्य ठाउँहरूमा पनि यसैगरी थप रु २४ लाख नगद ठगी गरेको खुलेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button