तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका ५१ जनामा डेंगीको संक्रमण

बागलुङ । बागलुङ जिल्लाका ५१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्ने लगायत समस्या देखिएपछि स्वास्थ्य संस्थामा नमुना जाँच गर्दा उनीहरूमा डेंगीको संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार बागलुङको गलकोटमा सबैभन्दा धेरै ४५ जनामा डेंगी संक्रमण भएको छ । जैमिनी नगर, ताराखोला र बडिगाड गाउँपालिकाका १/१ जना र अन्य ३ जनामा डेंगी संक्रमण भएको हो । गर्मी र बर्खा सुरु भएसँगै डेंगीको सङ्क्रमणले प्रकोपको रूप लिने जोखिम बढेको उहाँको भनाई छ ।

स्वास्थ्य संस्थामा उच्च ज्वरो आएर चेकजाँच गर्न आउने अधिकांश बिरामीमा डेंगी रोग संक्रमण देखिएको स्वास्थ्य निरीक्षक शर्माले बताउनुभयो । गर्मी र निरन्तरको वर्षाले लामखुट्टेको प्रजनन बढ्दा बागलुङमा डेंगीको संक्रमण बढिरहेको छ । ‘अस्पतालमा आउने उच्च ज्वरोका बिरामीमध्ये अधिकांशमा डेंगी देखिएको छ’ शर्माले भन्नुभयो ।

प्रकोपकैरूप लिने डेंगी रोकथामका लागि स्वास्थ्य संस्था र स्थानीय तहले अभियान थाले पनि संक्रमण दर भने बढिरहेको छ । बिहान–बेलुका सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहबह, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, पानी जम्ने खाल्डाखुल्डी, तालतलैया र झाडी सरसफाइ अभियानलाई निरन्तरता दिन शर्माले आग्रह गर्नुभएको छ ।

लामखुट्टेको टोकाइबाट बच्न घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै समयमा झुल लगाएर सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउने लगायतका उपाय अवलम्बन गर्न आम नागरिकलाई स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button