तपाईँ सुन्दै हुनुहुन्छः

भेडेटारमा नेपालकै तेस्रो स्काई वाक सञ्चालनमा

धनकुटा । पर्यटकीयस्थल भेडेटारमा नेपालको तेस्रो स्काइ वाक सञ्चालनमा आएको छ । साँगुरीगढी गाउँपालिका ६ भेडेटारको चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा आएको हो ।

भेडेटारलाई साहसिक पर्यटनको हब बनाउने प्रयासअनुसार शुक्रवारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्काई वाकको उद्घाटन गर्दै भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइ वाकले सहयोग गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकोले भेडेटारमा बनेको स्काइ वाकले त्यसलाई सहयोग पुग्ने बताउनुभयो ।

एघार रोपनीमा रहेको स्काइ वाकमा ५० मिटर लामो सिसामा हिँड्न सकिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । यसअघि काठमाडौँको कमलादी र इलामको कन्याममा स्काई वाक सञ्चालनमा आइसकेका छन् ।

भेडेटारमा सञ्चालनमा आएको स्काई वाकमा एक पटकमा २५ जनासम्म हिँड्न सकिने क्षमता रहेको वन्डर्स एम्युजमेन्ट पार्क प्रालि कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिनुभयो । यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनसक्ने बताइएको छ ।

चार वर्ष अघिदेखि निर्माण थालिएको स्काई वाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरेको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिनुभयो । उहाँले स्काइ वाकको आम्दानीबाट तिरेको राजस्व ५५ प्रतिशत साँगुरीगढी गाउँपालिका र ४५ प्रतिशत धरान उपमहानगरपालिकाले लिने सहमति भएको छ भने प्रदेश सरकारले ५ प्रतिशत राजस्व लिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button