तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा यातायात व्यवसायी आन्दोलित

पोखरा । पोखरामा यातायात व्यवसायीहरू आन्दोलित हुनु भएको छ । गण्डकी प्रदेश सरकारले २ पाङ्ग्रे ४ पाङ्ग्रे निजी (रातो प्लेट) का सवारी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना ल्याउने तयारी गरेको भन्दै त्यसको विरोधमा बिहीबार पोखरामा आफूहरू आन्दोलित हुनुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका प्रदेश संयोजक केदार पौडेलले बताउनु भयो । 

आफूहरूले ठुलो लगानी गरी राज्यको नियम अनुसार कालो प्लेटका सवारी साधन मार्फत यात्रु ओसारपसार गरेको अवस्थामा हाल रातो प्लेटका सवारीलाई पनि सार्वजनिक यातायातको मान्यता दिनु नेपालको कानून विपरीत भएको उहाँले दाबी गर्नु भयो । श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील गर्नुपर्ने माग सहित आफूहरू आन्दोलनमा उत्रिएको संयोजक पौडेलले जनाउनु भयो । आफूहरूले आज गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा ज्ञापन पत्र र त्यसको बोधार्थ भने कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले बताए । 

आफूहरूको मागहरू यथाशीघ्र सम्बोधन नभएमा यही साउन १३ गते (आइतबार) देखि आ–आफ्नो सवारी साधनहरू घर ग्यारेजमा राखी लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन नगर्ने व्यवसायीहरूले पत्रकार सम्मेलन मार्फत चेतावनी समेत दिनु भएको छ । 

सडक नै अवरुद्ध हुने गरी व्यवसायीहरूले सडकमा सवारी साधन राख्दा अत्यावश्यक सवारी साधन आगमनमा अवरोध भएको थियो । यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई प्रश्न गर्दा सडक कसैले अवरोध गर्न नपाइने तत्काल खुलाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएको प्रतिक्रिया दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button