तपाईँ सुन्दै हुनुहुन्छः

झापा जिल्ला अदालतबाट एक वर्षमा ३ हजार ६ सय ३६ मुद्दा फर्छ्यौट

झापा । झापा जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार छ सय ३६ मुद्दा फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्षका लागि राखेको वार्षिक लक्ष्यको ८४.५९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।

झापा जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश अशोक कुमार बस्नेतका अनुसार अदालतमा दुई वर्ष नाघेका एक सय ९३, एक वर्ष ६ महिना देखि दुई वर्ष भित्रका दुई सय ८१ र एक वर्ष ६ महिना भित्रका तीन हजार ९० मुद्दा फर्छ्यौट हुनु बाँकी रहेको बताउनुभयो । “चालु आवमा जिम्मेवारी सरेको दुई हजार सात सय ८६ र नयाँ दर्ता चार हजार चार सय १४ गरी जम्मा सात हजार दुई सय लगत रहेकोमा तीन हजार पाँच सय ६४ मुद्दा फर्छ्यौट गर्न बाँकी छन्” उहाँले भन्नुभयो ।

झापा जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका एक हजार पाँच सय ७१ मध्ये एक हजार एक सय ७१ मुद्दा चालु आवमा फर्छ्यौट गरिएको प्रमुख न्यायाधीश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अंश चलनका चार सय २१, लागु औषध दुई सय ५३, जबरजस्ती करणी एक सय ६३, लिखत बदर एक सय ८५, चेक अनादर एक सय ५६, सवारी ज्यान एक सय १८ , लेनदेनका एक सय ८४ मुद्दा चालु आवमा फर्छ्यौट गरिएको बताउनुभयो ।

फरक मुद्दा व्यवस्थापन पद्धतिको अवधारणा अनुसार २०८१ श्रावण १ गते देखि स्वचालित पेशी प्रणाली अबलम्बन गरिने प्रमुख न्यायाधीश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “सरल, सामान्य र जटिल प्रकृतिका मुद्दा गरी तीन किसिममा वर्गीकरण गरी सरल प्रकृतिका मुद्दाका लागि सरल मार्गबाट छ महिना भित्र, सामान्य प्रकृतिका मुद्दाका लागि सामान्य मार्गबाट एक वर्ष भित्रमा र जटील प्रकृतिका मुद्दाका लागि विशेष मार्गबाट डेढ बर्ष भित्रमा फर्छ्यौट गर्ने योजना छ” ।

चालु आवमा झापा जिल्ला अदालतको कक्षबाटै उच्च अदालत विराटनगर, इलाम इजलासमा श्रव्य-दृश्य संवाद मार्फत सुनुवाई गर्ने व्यवस्था गरिएको प्रमुख न्यायाधीश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button