तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति प्रक्रियामा ढुङ्गाना र तुलाधरको योगदान बिर्सन नसकिने’

ललितपुर । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।

पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित ‘स्मृतिमा पद्मरत्न तुलाधर’ पुस्तक विमोचन तथा व्यक्तित्व सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक, साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरङ्कुशता विरुद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । नेवा समुदायका अग्रज, मानवअधिकारवादी व्यक्तित्व, नेपालभाषा मङ्का खलका पूर्व अध्यक्ष तुलाधरको व्यक्तित्व समेटेर उक्त पुस्तक प्रकाशित गरिएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले पद्मरत्नसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै यस्ता सुयोग्य पात्रको सम्झनामा पुस्तक प्रकाशन गरेर उत्कृष्ट कार्य गरिएको बताउनुभयो । पुस्तकले एउटा इतिहासलाई जीवन्त बनाइराख्नुका साथै उहाँहरूको महत्वपूर्ण योगदानको स्मरण सदैव भइरहेको उहाँको भनाइ छ ।

“पद्मरत्न र दमननाथ संविधानसभाको प्रवक्ता हुनुहुन्थ्यो, उहाँहरूकै कारण आज यो व्यवस्थाका लागि सहज भएको छ, अब प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि हासिल गर्न सकेमा समृद्ध मुलुक निर्माण हुनेछ । उहाँहरूले नेपाली समाजको परिवर्तनका लागि दिनुभएको योगदान महत्वपूर्ण छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । ढुङ्गाना र तुलाधरले शान्ति प्रक्रियामा पु¥याउनुभएको योगदान बिर्सन नसकिने भन्दै उहाँले सङ्क्रमणकालीन न्याय यथाशीघ्र पूरा गरिने बताउनुभयो ।

कार्यक्रममा पद्मरत्न तुलाधरसँग सहकार्य, भाषा साहित्यको योगदानमा लाग्ने, राजनीतिक मानवअधिकार आन्दोलनमा काम गर्ने सहकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत एवं पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, भाषिक आन्दोलनका अग्रज द्वय वीरसिंह कंसकार र नर्मदेश्वर प्रधानलाई सम्मान गरिएको थियो ।

पूर्वसभामुख ढुङ्गानाले तुलाधरको अभावमा शान्ति प्रक्रियासँग सम्बन्धित काम पूरा हुन नसकेको बताउँदै उहाँ भएको भए हालसम्म सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुगिसक्ने थियो होला भन्नुभयो ।

पूर्व राजदूत तथा पूर्वसांसद श्रेष्ठले तुलाधरसँग भाषा र पत्रकारिताको माध्यमबाट पहिलो सम्बन्ध बनेको स्मरण गर्दै तुलाधर एउटा जात वा समुदायको मात्रै नेता नभएको बताउनुभयो । “उहाँ नेपाली भाषाको पनि सम्पादक हुनुहुन्थ्यो । उहाँ राजनीतिक व्यक्तित्व मात्रै हैन देशभक्त पनि हुनुहुन्थ्यो, उहाँले साहित्य र शान्ति प्रक्रियामा विशेष योगदान पुर्‍याउनुभएको छ”, उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तुलाधरको योगदानलाई जीवन्त राख्न गुठीले गर्ने हरेक कार्यक्रममा महानगरका तर्फबाट सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले तुलाधरले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै गुठीले आगामी दिनमा रचनात्मक र सिर्जनात्मक काम गर्ने विश्वास रहेको बताउनुभयो ।

डेनमार्कका लागि प्रस्तावित राजदूत, गुठीका उपाध्यक्ष तथा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरले बुवाले जनताको मुक्तिका लागि जीवन अर्पण गर्नुभएकामा गौरवान्वित बनाएको बताउनुभयो । भाषा, साहित्य तथा राष्ट्र हितका लागि उहाँले पुर्‍याउनुभएको योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन गर्न उपयोगी हुने ठानेर पुस्तक प्रकाशन गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button