तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरी गाउँपालिकाको बजेट ४७ करोड सार्वजनिक 

बर्दिबास । महोत्तरी गाउँपालिकाले ११ औँ गाउँ सभामा करिब ४७ करोडको बजेट सार्वजनिक गरेको छ । 

बुधवार महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेयले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ४६ करोड ९९ लाख ८९ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । 

गाउँपालिकाले सामाजिक, आर्थिक विकास, पूर्वाधार विकासलगायतका क्षेत्रमा नीति तथा कार्यक्रम निर्माण गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । 

अध्यक्ष पाण्डेयले प्रस्तुत गर्नु भएको नीति कार्यक्रममा गरिब घर पहिचान परिचय पत्र वितरण गर्ने, कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति ल्याएको छ । एक विद्यार्थी एक बिरुवा, एक विद्यालय एक बगैँचा कार्यक्रम सञ्चालन गरि सामुदायिक विद्यालयलाई हरित विद्यालयको रुपमा विकास गर्ने, हरेक वडामा व्याम पार्क बनाउने घोषणा गरिएको छ । 

‘बालबालिकाको इच्छा: प्रविधिमैत्री शिक्षा’ कार्यक्रम मार्फत विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गरी शैक्षिक गुणस्तर सुधार गर्न तथा प्रविधिमैत्री सिकाइ सहजीकरण गर्नका लागि विद्यालयमा इन्टरनेट सेवा पुगिसकेकोले यसलाई निरन्तरता दिइने नीति ल्याइएको छ । 

‘म स्वस्थ मेरो पालिका स्वस्थ मेरो देश स्वस्थ’ अभियानलाई जोड दिँदै स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले विशेष नीतिहरू अवलम्बन गरेको गाउँपालिका अध्यक्ष पाण्डेयले बताउनुभयो । समाजमा कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार र लागुपदार्थ विरुद्ध सचेतनामुलक कार्यक्रमलाई “हाम्रो समाज: राम्रो समाज” अभियान सञ्चालन गर्ने उहाँले उद्घोष समेत गर्नु भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेस प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य सुरिता साहले गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको प्रतिक्रिया दिनुभयो । उहाँले गाउँपालिकाको बजेट पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गनुभयो । कार्यक्रममा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योैपाने, गाउँपालिकाकी उपाध्यक्ष दिपो देवी पासमान, प्रमुख प्रशासकीय अधिकृत प्रवीण कुमार झा, गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरूलगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button