तपाईँ सुन्दै हुनुहुन्छः

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङले जित्यो

ओखलढुङ्गा । प्रदेश स्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ विजयी भएको हो ।

आज भएको फाइनल खेलमा माङसेबुङको तर्फबाट जितका लागि टिकाराम योङहाङ र निर्मल राईले १/१ गोल गरेका गरेका थिए । मानेभञ्ज्याङका विकास राईले १ गोल फर्काएका थिए ।

जितसँगै माङ्सेबुङले नगद पाँच लाख सहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको रनिङ शिल्ड साथै मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद तीन लाखसहित मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सेमिफानलिष्ट सिद्धिचरण नगरपालिका ओखलढुङ्गा र लालीगुराँस नगरपालिका तेह्रथुमलाई एक–एक लाख रुपैयाँ सहित मेडल र प्रमाण–पत्र पुरस्कार वितरण गरिएको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता थियो ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बु र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।

पुस १७ गते युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।

खेलको समापन समारोहमा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, प्रदेशका खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायतका अतिथिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button