तपाईँ सुन्दै हुनुहुन्छः

इलामको रोङ गाउँपालिकाले ल्यायो विद्यार्थी बचत खाता सञ्चालनमा 

इलाम । इलामको रोङ गाउँपालिकाले विद्यार्थी बचत खाता सञ्चालनमा ल्याएको छ  । पालिकाले प्रत्येक विद्यार्थीको बैङ्क खाता खोलेर दैनिक कम्तीमा १ रुपैयाँ बचत सुरु गरेको हो ।

विद्यार्थीहरूलाई विद्यालयमा रहँदा सानै उमेर देखि बचत गर्दा बालबालिकामा बचतको संस्कारसहित वित्तीय ज्ञान समेत विकास हुने भएकोले यो अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो “अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत गाउँपालिकाले ‘विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रमको कार्यविधि –२०८०’ तयार गरेको छ र विद्यालयका विद्यार्थीले अनिवार्य रुपमा बैङ्कमा खाता खोल्नुपर्ने नियम ल्याइएका छौँ ।”

पालिका अध्यक्ष स्याङ्बोले बचत रकम जम्मा गर्न प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेको जानकारी दिनुभयो ।  प्राइम कमर्सियल बैङ्कमा पालिकाकाले विद्यालयसँग समन्वय गरेर  नर्सरीदेखि कक्षा १२ सम्मका सबै विद्यार्थीको बचत खाता खोलिसकेको छ । 

गाउँपालिकाले बनाएको कार्यविधि अनुसार बैङ्क खातामा गाउँपालिकाले विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको दिनको आधारमा दैनिक एक रुपैयाँका दरले बचत गरिदिने छ। यसमा विद्यार्थीहरूले समेत नियमित बचत गर्नुपर्ने नियम पालिकाले बनाएको छ । विद्यार्थीले दैनिक एक रुपैयाँ वा सो भन्दा बढी पनि बचत गर्न सक्ने छन् । विद्यार्थीको बचत भने विद्यालयले नै सकंलन गरेर बैङ्कमा जम्मा गर्नु पर्ने नियम बनाइएको छ । पालिकाले प्रत्येक ३ महिनामा विद्यार्थीको उपस्थितिको आधारमा एक मुष्ट रकम जम्मा गर्ने छ । 

यसमा बैंकले पनि प्रत्येक विद्यार्थीको खाता खोल्दा खातामा १०० रुपैयाँ दरले रकम जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता गरेको छ । 

अध्यक्ष स्याङ्बोले  छात्रावृत्तिको लागि हरेक बर्ष ठूलो बजेट खर्च हुने भए पनि  विद्यार्थीहरूले आवश्यकताअनुसार पर्याप्त सहयोग नपाउने भएकाले गाउँपालिकाले बैङ्क खाता खोलेर विद्यार्थीहरूको बचत सुरु गरेको बताउनु भयो । 

यसरी बचत हुँदा विद्यार्थीमा बचतको बानी र ज्ञान हुने तथा विद्यालय शिक्षा पछि उच्च शिक्षा लिन पनि आर्थिक सहयोग मिल्ने भएकोले विद्यार्थी अभिभावक सबै हर्षित भएका छन् ।

हाल ३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार ५ सय बराबर विद्यार्थीहरूले बचत गर्न थालिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button