तपाईँ सुन्दै हुनुहुन्छः

पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र कोरिया सरकारबीच प्रदेश २ को बर्दिबासमा दक्ष जनशक्ति उत्पादनका लागि पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

आज सिंहदरबारमा अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत पार्क चोंग सुकले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमति पत्र अनुसार कोरियाली सरकारले प्रदेश २ मा लागू गरिने सात वर्षे उक्त परियोजनाका लागि करिब १ अर्ब ३ करोड रुपैयाँ अनुदान दिनेछ ।

कोरियाली सहायता संस्था कोइका र व्यावसायिक तालिम तथा प्राविधिक शिक्षा परिषद् सिटिभिटीमार्फत सो परियोजना लागु हुनेछ ।

हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मरासिनीले प्राविधिक शिक्षाको विकासले मात्र मुलुकको बेरोजगारी समस्या समाधान हुने भन्दै सहयोगका लागि कोरियाली सरकारलाई धन्यवाद दिनुभयो ।

उहाँले मानव सूचकाङ्कमा कमजोर रहेको प्रदेश २ मा पोलिटेक्निक इन्स्टिच्युट स्थापनापछि सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

कोरियाली राजदूत सुकले परियोजनाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने धारण राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button