तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज रंगशाला : जहाँ खेलाडीले खेल्न पाउँदैनन्

नेपालगञ्ज । गज्जबको संरचना छ,मैदानको स्वरूप पनि उस्तै राम्रो देखिन्छ । प्याराफिट पनि व्यवस्थित र आकर्षक छ ,मैदानले खेलाडी पर्खिरहेको छ । तर, विडम्बना खेलाडीले खेल नै खेल्न पाउँदैनन् । बाँकेको नेपालगञ्जस्थित अत्याधुनिक रंगशालाको कथा हो यो ।

२०७६ सालमा नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु एक वर्ष अघिदेखि नै नेपालगञ्ज रङ्गशालाको भौतिक पूर्वाधार निर्माण गर्ने भनेर खेलाडीलाई खेल्नबाट वञ्चित गरिएको थियो ।

पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा एथलेटिक्सको सिन्थेटिक ट्र्याक निर्माणको काम भएका कारण मैदानमा खेलाडीले खेल्न पाएका थिएनन् । ट्र्याक निर्माण भएर पनि सरकारलाई हस्तान्तरण गर्नु अघि नै बिग्रिएपछि रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद्ले कसैलाई पनि खेल्न अनुमति दिएको छैन ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्षदेखि नेपालगञ्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनुहुन्छ । बालबालिकालाई प्रशिक्षण गराउन मैदान माग्दा समेत नपाएको शाहीको गुनासो छ ।

राज्यले अर्बौँ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पूर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । नेपालगञ्ज रङ्गशाला यहाँका खेलाडीहरूको लागि प्रमुख प्रशिक्षण केन्द्र हो । तर, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका निकायहरूको खेलाडीप्रतिको उदासीनताका कारण पनि प्रशिक्षणका कार्यक्रम प्रभावित हुने गरेको खेल सम्बद्ध अधिकारीहरू बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button