तपाईँ सुन्दै हुनुहुन्छः

०६५ सालयता झण्डै ११ लाखद्वारा गोरखा सङ्ग्रहालय अवलोकन

गोरखा । मुलुकमा गणतन्त्र आएसँगै २०६५ सालमा सर्वसाधारणका लागि खुला गरिएको गोरखा सङ्ग्रहालयको असोज मसान्तसम्म १० लाख ८७ हजार ४८५ जनाले अवलोकन गरेका छन् ।

हालसम्म १० लाख ७१ हजार ६३ जना नेपाली, ८८३ जना सार्क राष्ट्रका नागरिक र १४ हजार १३२ जना विदेशीले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका गोरखा सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले बताउनुभयो ।

पर्यटकहरू र उनीहरूले बोक्ने क्यामेरा बापत राजश्व सङ्कलन हुँदै आएको थियो । ०६५ सालदेखि हालसम्म कुल तीन करोड ७६ लाख, ३६ हजार ७५४ रुपैयाँ राजश्व सङ्कलन भएको छ । नेपालीहरूका लागि आर्थिक वर्ष ०७४/०७५ बाट क्यामेराको चार्ज लिन छाडिएको छ ।

पुरातात्त्विक महत्वको संरचनाको रुपमा रहेको गोरखा सङ्ग्रहालयमा नेपाल राज्य एकीकरण समय कालका अभिलेख तथा तस्वीर रहेका छन् । पछिल्लो समय विभिन्न जातजातिका भेषभुषा, उनीहरूले अपनाउने पेशाका आकृति समेत सङ्ग्रहालयमा राखिएका छन् ।

२०६५ साल जेठ ५ गतेका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सङ्ग्रहालय सर्वसाधारणको लागि खुला गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button