तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा प्रथम आदिवासी जनजाति महोत्सव हुँदै

बाँके । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले आगामी २०८१ साल कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ आयोजना गर्ने घोषणा गरेको छ।

‘विश्वभरी फैलिएका हामी जनजाति, हामी आदिवासी जोगाई राखौँ, भेषभुषा, भाषा, संस्कृति’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवले आदिवासी जनजातिका कला, संस्कृति, भाषा र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्मर बहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार, महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति र परम्परालाई जगेर्ना गर्दै पर्यटन र व्यापार प्रवर्द्धन गर्नु हो। साथै, महोत्सवबाट सङ्कलित रकम संस्थाको भवन निर्माणमा लगानी गरिने छ। महोत्सवमा विभिन्न जातीय समूहहरूको भेषभुषा, पौराणिक कला र सांस्कृतिक सम्पदाको प्रदर्शनी हुनेछ। १२ जिल्लाबाट आएका धार्मिक तथा पर्यटकीय स्टलहरू महोत्सवको मुख्य आकर्षण हुनेछन्, जहाँ जातीय खानाका परिकारहरूको पनि निःशुल्क प्रदर्शनी हुनेछ।

महोत्सवमा २५० भन्दा बढी औद्योगिक तथा व्यावसायिक स्टल रहनेछन्, जसमा कृषि, हस्तकला, र पर्यटन सम्बन्धी उत्पादनहरूको प्रदर्शन गरिनेछ। यसका साथै, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको सहभागिता रहने महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button